झुम्का कारागारमा स्वास्थ्य संकट: सात दिनमै तेस्रो बन्दीको मृत्यु

Aarambha Online 468+ समाचार ( )
१८ भाद्र २०८२

सुनसरी । झुम्का कारागारमा स्वास्थ्य संकट गहिरिँदै गएको छ। पछिल्लो एक साताभित्र तेस्रो बन्दीको मृत्यु बुधबार साँझ भएको छ।

सप्तरीको राजविराज–८ घर भएका ४६ वर्षीय जलेश्वर यादवको उच्च ज्वरो र श्वासप्रश्वास समस्या बढेपछि उनलाई साँझ करिब ५:३० बजे उपचारका लागि सुनसरी जिल्ला अस्पताल, इनरुवा पुर्‍याइएको थियो। अस्पताल भर्ना भएपछि अवस्थाको जटिलता बढ्दै गएर उपचारकै क्रममा मृत्यु भएको जेलर राम निरौलाले जानकारी दिए।

यादव जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए। हाल झुम्का कारागारमा ३ सयभन्दा बढी कैदी-बन्दीहरू उच्च ज्वरोको समस्याबाट ग्रसित छन्, जसमा १३ जनालाई गम्भीर अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ।

बुधबार रातिसम्म जिल्ला अस्पताल इनरुवा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले संयुक्त स्वास्थ्य शिविर सञ्चालन गर्दै बिरामीको चेकजाँच र आवश्यक औषधि वितरण गरेको जेल प्रशासनले जनाएको छ।

हाल झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ मा १,७९८ जना कैदी-बन्दी रहेका छन्। स्वास्थ्य जोखिम बढ्दै गएपछि चिकित्सक टोलीलाई हाई अलर्टमा राखिएको जेल प्रशासनले जनाएको छ।

#JhumkaPrison #PrisonHealthCrisis #SunsariNews #NepalCrime #AarambhaOnline
@followers @follow @follower @followaarambhaonline

प्रतिक्रिया

सम्बन्धित समाचार